Wednesday, July 6

१ सय २ मेगावाटको मध्य भोटेकोशी बन्ने

ध्रुव दङ्गाल, चौतारा, सिन्धुपाल्चोक
सिन्धुपाल्चोककमा पहिलोपटक जिल्लाबासी र सर्वसाधरणसमेतको सेयर लगानीमा १ सय २ मेगावाट क्षमताको मध्ये भोटेकोशी जलविद्युत आयोजना निर्माण हुने भएको छ। चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा बन्न लागेको यो आयोजना जिल्लामा सबैभन्दा ठूलो हो।

गत साउनमा कम्पनी रजिष्टर्डको कार्यालयमा मध्ये भोटेकोसी पावर कम्पनीको रुपमा दर्ता यो आयोजना पिपिए (विद्यतु खरिद सम्झौता) को प्रक्रियामा छ। साता-१० दिनमै पिपिए सम्झौता हुने आयोजनाका प्रवन्ध सञ्चालक प्रकाशमान श्रेष्ठले बताए। 'पिपिए अन्तिम चरणमा पुगेको छ,' उनले नागरिकसँग भने।

व्याजसहित १५ अर्ब रुपैयाँ लागतमा बन्ने आयोजना सन् २०१३ को सुरुवातमा निर्माण सुरु गरी सन् २०१६ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आयोजनामा चिलिमेको ३८, नेपाल विद्युत प्राधिकरणको १० तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एक/एक प्रतिशत संस्थापक सेयर रहने श्रेष्ठले जानकारी दिए। उनका अनुसार सर्वसाधरणलाई १५, प्रभावित जिल्लाबासीलाई १०, कर्मचारी सञ्चय कोषलाई १९.५ र आयोजनामा कार्यरत कर्मचारीलाई ३.५ प्रतिशत सेयर दिइनेछ।

आयोजनाको नेतृत्वकर्ता चिलिमे र सञ्चयकोषबीच लगानी सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर समेत भइसकेको छ। 'स्थानीयलाई आफूले जगेर्ना गरेको प्राकृतिक सम्पदाको हकदार बनाउन र आयोजनाप्रति अपनत्वको अनुभूति दिलाउन सर्वसाधरण र जिल्लाबासीलाई समेत सेयर दिन लागेका हौं,' प्रवन्ध सञ्चालक श्रेष्ठले भने।

आयोजनाको ड्याम मार्मिङ-९ चाकुमा र पावर हाउस जम्बुमा रहनेछ भने ७.२ किलोमिटर लामो सुरुङमार्ग भूमिगत हुनेछ। वातावरणीय प्रभाव मूल्यांकन अध्ययन भइरहेको आयोजनाले तत्कालै परीक्षणका लागि २ सय ५० मिटर सुरुङ बनाउने जनाएको छ। यसका लागि टेण्डरसमेत भइसकेको छ। व्यवस्थापन पक्षका अनुसार आयोजनाबाट वार्षिक ५९ करोड युनिट विक्री योग्य विद्युत उत्पादन हुनेछ। 
 
फूल्पिङकट्टीको झीर्पुमा पावर हाउस रहेको ३६ मेगावाटको भोटेकोसी पावर कम्पनीले पानीलाई फर्काएर चाकुमै ४५ मेगावाट क्षमताको अर्को आयोजना निर्माण गर्न लागेको छ। यहींबाट निस्केको पानी सदुपयोग गरी मध्ये भोटेकोसी बन्न लागेको हो। चिलिमेले हाल निर्माणका लागि चार आयोजनाको सम्भाव्यता अध्ययन गरिरहेको छ। मध्ये भोटेकोसी तीमध्येको एक हो। चिलिमेले रसुवामा दुई वर्षदेखि २२.१ मेगावाट क्षमताको विद्युत उत्पादन गर्दै आएको छ। सय मेगावाटको रसुवागडी, १४.६ को सान्जेन माथिल्लो र साढे ४२ मेगावाटको सान्जेन तल्लोको अध्ययन भइरहेको प्रवन्ध सञ्चालक श्रेष्ठले जानकारी दिए। 
Source: www.nagariknews.com
 

No comments:

Post a Comment