Thursday, September 22

जलविद्युत्मा लगानी गर्न अमेरिकी इच्छुक


वासिङटन डिसी, अमेरिका 
अमेरिकी लगानीकर्ताले भारतको आर्थिक उन्नतिबाट फाइदा लिन सकिने भन्दै नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न रुचि देखाएका छन् । लगानी बढाउने सम्भावना खोज्न यहाँ आएको नेपाली व्यवसायीको प्रतिनिधिमण्डलसँग भएको दुईदिने बैठकमा उनीहरूले यस्तो चाहना राखेका हुन् ।
भारतमा बढिरहेको अमेरिकी लगानीको प्रतिफल दिगो बनाउन पनि नेपालमा जलविद्युत् विकास आवश्यक रहेकामा उनीहरू सहमत देखिन्थे । 'भारतमा अमेरिकीहरूको ठूलो लगानी छ, यो बढिरहेको छ, ऊर्जा अभाव झेलिरहेको भारतीय बजार लक्षित गरेर अमेरिकीहरू नेपालमा लगानी गर्न तयार छन्,' नेपाली प्रतिनिधि मण्डलका नेता एवं उद्योग वाणिज्य महासंघ लगानी प्रवर्द्धन समितिका संयोजक चन्द्र ढकालले भने ।
नेपालमै पनि ऊर्जा अभाव भएकाले बजारको समस्या छैन । भारतमा बिजुली बेच्न हालै विश्व बैंकको सहयोगमा प्र्रसारण लाइन निर्माण गरिने सम्झौता भएबाट निकासीको ढोका खुल्ने छ ।
हालै मात्र २५ मेगावाटभन्दा तलका आयोजनाबाट उत्पादित बिजुलीको खरिददर २० प्रतिशत बढाउने निर्णय सरकारले गरेको छ । 'यो पनि  लगानीकर्ताका लागि थप आकर्षण भएको छ,' ढकालले भने । निर्माणाधीन नयाँ जलविद्युत् ऐन अझै लगानीमैत्री भएर आउने विश्वास गरिएको छ । 

अमेरिकाको डिपार्टमेन्ट अफ कमर्सका अन्तर्राष्ट्रिय व्यापारविद् रायन हलोवेलले नेतृत्व गरेको टोलीमा अमेरिकाको नेसनल हाइड्रो पावर एसोसिएसनका गभर्मेन्ट अफेयर्स डाइरेक्टर जेफ्री लेही, युएस टे्रड एन्ड डेभलपमेन्ट एजेन्सीका दक्षिण तथा दक्षिण पूर्वी एसिया निर्देशक हेनरी स्पिन्गासलगायत बैठकमा सहभागी थिए । यो एजेन्सी विभिन्न आयोजनाहरूको पूर्व सम्भाव्यता अध्ययन गर्ने निकाय हो ।
नेपालमा भोटेकोसी जलविद्युत् आयोजनाको पूर्व सम्भाव्यता अध्ययन यही कम्पनीले गरेको थियो । 'उनीहरूको अध्ययनलाई संसारभरि विश्वास गरिन्छ, त्यसैले हामीले यसमा पनि आउन आग्रह गर्‍यौं,' ढकालले भने । त्यसबाहेक यो निकायले अध्ययन भ्रमण, कार्यशाला लगायतमा समेत खर्च गर्ने टोलीका अर्का सदस्य काठमाडौंस्थित अमेरिकी दूतावासका वरिष्ठ आर्थिक विशेषज्ञ तापस गुप्ताले बताए ।
सोही विभागका नवीकरणीय ऊर्जा व्यापारविद् जेनिफर डेस्टिनको नेतृत्वमा अर्को टोलीसँग पनि बेग्लै छलफल भएको थियो । टोलीमा नेपाली दूतावासका चिफ अफ प्रोटोकल अर्जुनकान्त मैनाली, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र श्रेष्ठ, लेखनाथ नगरपालिका उद्योग वाणिज्य संघका बाबुराम जमरकटेललगायत थिए । बैठकपछि नेपालमा लगानी ल्याउने विषयमा निकै आशावादी भएको गुप्ताले बताए ।
Source: www.ekantipur.com

No comments:

Post a Comment