Wednesday, November 2

संरक्षणविद् प्रल्हाद योन्जनको निधन

काठमाडौं, नेपाल
संरक्षणविद् प्रल्हाद योञ्जन २५ वर्षअघि अमेरिकामा पढेर फर्केयता सकेसम्म साइकलमै काठमाडौंभित्र यात्रा गर्थे। वातावरणप्रतिको चिन्ताले निसास्सिँदो सडकमा साइकल हाँक्दाहाँक्दै ट्रकको ठक्करबाट सोमबार उनको निधन भयो।
कलंकीबाट बल्खु जाँदै गर्दा अपराह्न उनी चढेको साइकललाई ट्रकले ठक्कर दिएपछि उनी सख्त घाइते भएका थिए। प्रत्यक्षदर्शी विवेक शर्माले चार बज्न दस मिनेटअघि अस्वभाविक गतिमा आएको ट्रकको पछाडि मान्छे लडेको देखेपछि उद्धार गर्दै त्रिपुरेश्वरस्थित काठमाडौं अस्पताल पुर्‍याएका थिए। अस्पतालले साढे पाँच बजेतिर अग्रणी संरक्षणविद्को दुःखद् निधनको घोषणा गर्‍यो। 
ट्रक चालकले साइकल आफ्नो चक्कामा आएर ठोक्किएको दाबी प्रहरीसँग गरेका छन्। प्रत्यक्षदर्शी शर्माका अनुसार योञ्जनको देब्रे खुट्टा किचिएको थियो र सास चलिरहेको थियो। उनले प्रहरीलाई घटनाबारे सूचित गरी आफ्नै गाडीमा राखेर योञ्जनलाई अस्पताल पुर्‍याए। घाइतेको डायरीबाट नम्बर हेर्दै आफन्तलाई खबर गरे। चिकित्सकबाट पाँच मिनेटमात्र छिटो उपचार सुरू गर्न पाएको भए जीवन रहने सम्भावना रहेको भन्ने सुने। 
'उहाँ साइकलमा हुनुहुन्थ्यो। पहिला त कुनै विदेशीजस्तो लागेको थियो,' शर्माले भने, 'पछि इन्टरनेटमा हेर्दा ठूलो संरक्षणविद् हुनुहुँदो रहेछ, ज्यान बचाउन नसक्दा थकथक लागिरहेको छ।''उनी नेपाल मात्र नभएर यस भेगकै अन्तर्राष्ट्रिय स्तरका विज्ञ थिए,' आफू ऊर्जाका क्षेत्रमा रहे पनि योञ्जनसँग केही समय साथै काम गरेका अनिल चित्रकार भन्छन्, 'हिमाली भेगसँग जोडिएका भूभागको इकोसिस्टममा उनी जत्तिको जानकार कोही थिएनन्।' त्यसैका आधारमा उनले नेपाललगायत भुटान, सिक्किमजस्ता क्षेत्रमा रहेका वन्यजन्तुको अवस्थाबारे समेत विस्तृत अध्ययन गरेका थिए।चित्रकार यो क्षतिलाई वन्यजन्तु संरक्षण क्षेत्रमा घुन्सामा भएको हेलिकोप्टर दुर्घटनापछिकै ठूलो बताउँछन्। मुलुककै २० प्रतिशत भूभागलाई राष्ट्रिय निकुञ्जका रुपमा विकास गर्न महत्वपूर्ण योगदान दिने हर्क गुरुङ, चन्द्र गुरुङ, मिङमार शेर्पाजस्ता नामसँगै जोडिने स्तरका व्यक्ति योञ्जन रहेको उनको ठहर छ।
२०४२ सालताका लाङटाङ क्षेत्रका रातो हाब्रे (रेड पान्डा) माथि शोध गरेर उनले अमेरिकाबाट विद्यावारिधि गरेका थिए। योञ्जनको यो कामले नेपालको त्यस सिंगो भेगलाई लोप हुन लागेको वन्यजन्तुबारे चिन्ता लिने विश्व समुदायसँग नजिक्याएको थियो। अहिले लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको 'रेड पाण्डा ट्रेल' योञ्जनकै देन हो। बाघसँग जोडिएको अर्को महत्वपूर्ण खोजीका निम्ति पनि योञ्जन प्रसिद्ध थिए। तीन हजारमिटर माथि पनि पाटेबाघ (रोयल बंगाल टाइगर)पाइन्छ भनेर पहिलो पटक उनैले पुष्टि गरेका थिए। त्यो अनुसन्धान भुटानमा गरिएको थियो। 

'पाँच वर्षअघिको यो खोजीले विश्वभर बाघको विषयमा रहेको भ्रम चिर्ने काम मात्र गरेको थिएन,' विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुख डा. दिनेशराज भुजु भन्छन्, 'उच्च भूभागमा पाइने एउटा वनस्पतिको छेउमै बसेको बाघको तस्बिर सार्वजनिक गरिदिएपछि यो वन्यजन्तुको क्षेत्रमा काम गरिरहेका संसारभरका विज्ञ चकित परेका थिए।' भुजु २५ वर्षअघि सम्पर्कमा आएका योञ्जनलाई आफ्नो अनुसन्धान गुरु बताउँछन्। योञ्जनले हात्ती, बाँदर, चरा र हिमचितुवाबारे पनि अध्ययन गरेका थिए। 'उनले भर्खरै पत्ता लगाएको नयाँ प्रजातिको मृगबारे अन्तर्राष्ट्रिय प्राणी शास्त्रीको संगठनमा अध्ययन चलिरहेको छ,' भुजुले भने, 'स्वदेशीले भन्दा पनि विदेशीले बढी चिन्ने मुलुककै ऊर्जाशील व्यक्ति भइकन पनि अत्यन्त कम चर्चामा बस्न रुचाउनु उनको विशेषता थियो।'

भुटानमा समेत राष्ट्रिय निकुञ्ज बनाउन योगदान दिने योञ्जनले संरक्षण क्षेत्रमा पुर्‍याएको योगदानकै आधारमा म्याकार्टर फाउन्डेसनको साढे तीन लाख अमेरिकी डलरको अवार्ड समेत पाएका थिए। त्यो रकमबाट उनकै इच्छाअनुसार संरक्षण विज्ञानमा समर्पित भावी पुस्ताका निम्ति अनुसन्धान केन्द्रको थालनी भइसकेको छ। त्यसका निम्ति धोबिघाटनजिकै चार तल्लाको भवन तयार पारिसकिएको र त्यहाँ यतिबेला वार्षिक २० जना स्नातकोत्तर विद्यार्थीले शोधकार्य गर्ने भुजुले जानकारी दिए। घुन्सा दुर्घटनामा मुलुकको संरक्षण क्षेत्रका सबैजसो महत्वपूर्ण व्यक्तिको निधन भएपछि योञ्जनले नयाँ पुस्ता तयार पार्न साथीहरु मिलेर दैनिक कम्तीमा चार-पाँच घन्टा पढाउन थालौं भनेर प्रस्ताव ल्याएको सम्झना पनि चित्रकारले गरे। ६० वर्षे योञ्जनकी श्रीमती बिनुसहित एक छोरा र एक छोरी छन्।
स्रोत: www.nagariknews.com  

No comments:

Post a Comment