Wednesday, December 7

जलविद्युत् कि पर्यटन?

डम्बरकृष्ण श्रेष्ठ
भोटेकोशी, सिन्धुपाल्चोकमा

अँध्यारोमा बस्नुपरेको जलस्रोतको धनी देश नेपालको लागि विद्युत् जति आवश्यक छ, देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको संरक्षण र विकास त्यत्तिकै जरुरी। चिलिमे जलविद्युत् कम्पनी र नेपाल विद्युत् प्राधिकरणले रु.१२ अर्ब २८ करोडको लगानीमा सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गर्दैछन्। यसबाट र्‍याफ्टिङ र कायकिङका लागि विश्व प्रसिद्ध भोटेकोशीको आकर्षण गुम्ने भएकाले आयोजनालाई ७५ मेगावाटमा सीमित गरी गातीमा प्रस्तावित विद्युत्गृहलाई सखुवामा सारेर नदी संरक्षण गर्नुपर्ने माग पर्यटन व्यवसायीहरूको छ। तर आयोजना निर्माता र राजनीतिक दलहरू अहिलेलाई पर्यटन भन्दा जलविद्युत् महत्वपूर्ण भएकाले हाल डिजाइन गरिएअनुरुप बनाउनुपर्ने अडानमा छन्।

१० मङ्सिरमा मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सखुवामा आयोजना गरेको अन्तरक्रियामा नेकपा एमालेका पूर्व सांसद् सुभाष कर्माचार्यको भनाइ थियो, “नदी जोगाउने र पर्यटक ल्याउने कुरा आफ्नो ठाउँमा छ, तर सबैभन्दा पहिले हामीलाई उज्यालो चाहिएको छ।” जलविद्युत्लाई प्राथमिकता दिने र पर्यटनलाई पनि सक्दो जोगाउने कुरा गर्दै एनेकपा मा'वादीका सभासद् राजकुमार श्रेष्ठले तर मध्य भोटेकोशीमा स्थानीय बासिन्दाको जीवनस्तर उकास्न र गाउँ विकास गर्न विद्युत् नै महत्वपूर्ण भएको बताए।

कार्यक्रममा आयोजना प्रबन्धक कुलमानसिंह तामाङले सार्वजनिक-निजी साझ्ेदारीमा बन्न लागेको मध्य भोटेकोशीले तल्लो तहका जनताको आयस्तर बढाउने आकर्षण देखाए। आयोजनाले पर्यटनलाई असर पार्ने कुरा उठिरहेका बेला उनले इको हाइड्रो-टुरिजमको अवधारणा अनुसार चीनमा जस्तै हाइड्रोपावर हेर्ने पर्यटक भित्र्याउन सकिने र र्‍याफ्टिङका लागि आयोजना भन्दा दक्षिणको क्षेत्रमा नयाँ संरचना थपिने बताए।

अन्तरक्रियामा आयोजना प्रमुखदेखि अन्य दलका नेता समेत मध्य भोटेकोशीबाट दीर्घकालीन रूपमा हुनसक्ने प्राकृतिक, वातावरणीय असर र त्यसको प्रभावमा भन्दा फाइदा र मुनाफाका कुरामा केन्द्रित थिए। गाउँवासीले यसअघि माथिल्लो भोटेकोशीले वाचा पूरा नगरेको सम्झदै जुन जोगी आए पनि कानै चिरेको हुने त हैन भन्ने आशङ्का गरे। स्थानीय माओवादी कार्यकर्ता कुमार राउतले भने, “जनताका गुनासो लिएर माथिल्लो भोटेकोशीको कार्यालयमा जाँदा हामीलाई दुई-चार लाख रुपैयाँ लगेर पार्टी चलाउनुस्, अरू कुरा नगर्नुस् भने। त्यसैले आयोजनाले पहिल्यै जनतालाई हरेक कुरामा ढुक्क पार्न सक्नुपर्छ।” माथिल्लो भोटेकोशीमा सिकर्मीको नाइके रहेका शंखजित तामाङले घरमा खाने पैसा नहुने गरिबले केले शेयर किन्ने भन्ने प्रश्न गर्दै भने, “गरिबले केही समय काम पाउलान्, कमाएर खालान्; तर सधैँभरि कमाएर अर्बपति हुने धनी नै हुन्। गरिबका झुपडीमा विकास हुने गरी काम गर्नुपर्‍यो, पर्यटनलाई पनि मार्नु भएन।”

पर्यटनबाट गाउँमा केही विकास भएको स्पष्ट गर्दै गाती-९ का मोहन श्रेष्ठले पर्यटक आवागमन ठप्पै नहुने गरी आयोजना ल्याउनुपर्ने बताए। उनले भने, “स्थानीयस्तरमा सल्लाह सुझाव लिएर केन्द्रतिर जानुपर्थ्यो, तर यहाँ त सबै काम केन्द्रमा सकेर हामीलाई थोपर्न मात्र ल्याइएजस्तो देखिन्छ।” मानलिङका दावा शेर्पाले आयोजनाको निर्माण शुरु गर्नुअघि सबै गाउँका वडा-वडासम्म पुगेर राय लिन सुझाव दिए। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष निफुञ्जो शेर्पाले विकास निर्माणको काममा बन्द, हड्ताल हुन नदिन सबै पार्टीले आफ्ना कार्यकर्तालाई ठीक ठाउँमा राख्नुपर्ने बताए।
Source: www.himalkhabar.com

No comments:

Post a Comment