आइसल्याण्ड विश्वविद्यालयको वातावरण विज्ञान विभागको सभाकक्षमा नेपालबाट आएको पत्रकारले जलवायु परिवर्तनले हिमालहरूमा पारेको असरबारे अन्तर्क्रियामा बोल्ने कार्यक्रम थियो। कार्यक्रमको शुरुमा मजस्तै सेतो कपाल फुलेको, सुट र टाई लाएको मानिस हलभित्र छिरेको देखेँ। कसैले उनलाई धेरै वास्ता गरेन, तर उनले मैले देखाएको नेपाल र तिब्बतका हिमताल र पग्लिँदो हिमरेखाका तस्बिरहरूको पावर प्वाइन्ट प्रस्तुति रुचिपूर्वक हेरे। बोल्ने क्रममा एक-दुईवटा प्राविधिक खालका प्रश्न पनि सोधे। आइसल्याण्डका कुनै वैज्ञानिक होलान् भन्ठानेँ। मेरो प्रोफेेसर साथीले परिचय गराइदिएपछि पो थाहा भयो, उनी त आइसल्याण्डका राष्ट्रपति ‘लाफुर ग्रिसोन रहेछन्।
६ महिनाअघि यही स्तम्भमा मैले माल्दिभ्सका राष्ट्रपतिको सरलता र आफूलाई ठूलो मान्छे भनेर बिलकुल नदेखाउने बानीको चर्चा गरेको थिएँ। आइसल्याण्डका राष्ट्रपतिसँगको छोटो कुराकानीमा पनि मलाई त्यस्तै लाग्यो। सभाकक्षभित्र प्रवेश गर्दा उनीसँग न अङ्गरक्षक थिए, न पिए। हलमा भएका कसैले पनि नेपालमा जस्तो झ्ुकेर चाप्लुसी गरेनन्। प्रमुख अतिथि भनेर २५ केजीको माला लगाएनन्। बरु देख्यानदेख्यै गरे। कत्रो भिन्नता नेपालका नेताहरूको दाँजोमा।