आइसल्याण्ड विश्वविद्यालयको वातावरण विज्ञान विभागको सभाकक्षमा नेपालबाट आएको पत्रकारले जलवायु परिवर्तनले हिमालहरूमा पारेको असरबारे अन्तर्क्रियामा बोल्ने कार्यक्रम थियो। कार्यक्रमको शुरुमा मजस्तै सेतो कपाल फुलेको, सुट र टाई लाएको मानिस हलभित्र छिरेको देखेँ। कसैले उनलाई धेरै वास्ता गरेन, तर उनले मैले देखाएको नेपाल र तिब्बतका हिमताल र पग्लिँदो हिमरेखाका तस्बिरहरूको पावर प्वाइन्ट प्रस्तुति रुचिपूर्वक हेरे। बोल्ने क्रममा एक-दुईवटा प्राविधिक खालका प्रश्न पनि सोधे। आइसल्याण्डका कुनै वैज्ञानिक होलान् भन्ठानेँ। मेरो प्रोफेेसर साथीले परिचय गराइदिएपछि पो थाहा भयो, उनी त आइसल्याण्डका राष्ट्रपति ‘लाफुर ग्रिसोन रहेछन्।
६ महिनाअघि यही स्तम्भमा मैले माल्दिभ्सका राष्ट्रपतिको सरलता र आफूलाई ठूलो मान्छे भनेर बिलकुल नदेखाउने बानीको चर्चा गरेको थिएँ। आइसल्याण्डका राष्ट्रपतिसँगको छोटो कुराकानीमा पनि मलाई त्यस्तै लाग्यो। सभाकक्षभित्र प्रवेश गर्दा उनीसँग न अङ्गरक्षक थिए, न पिए। हलमा भएका कसैले पनि नेपालमा जस्तो झ्ुकेर चाप्लुसी गरेनन्। प्रमुख अतिथि भनेर २५ केजीको माला लगाएनन्। बरु देख्यानदेख्यै गरे। कत्रो भिन्नता नेपालका नेताहरूको दाँजोमा।
काठमाडौंका अस्तव्यस्त सडकलाई अझ् अस्तव्यस्त पार्नेगरी साइरन बजाउँदै हुइँकिने, विदेश भ्रमणमा जाने बेलामा पूरै राजधानी ठप्प पार्ने, एयरपोर्ट नै एक-दुई घण्टा बन्द गर्ने राष्ट्रपति, प्रधानमन्त्री र नेपालका नवरजौटाहरूको रवाफ सम्झ्े। कतिपल्ट साइड नलागेको भनेर प्रधानमन्त्रीको रक्षाको लागि खटिएका कालो चस्मा लगाएका कमाण्डोले नीलो पिकअपबाट राष्ट्र ब्याङ्कअगाडि मलाई हप्काएको सम्झ्ेँ। उद्घाटन समारोहलाई घण्टौँ कुराउने, भाषण दिँदा अरु नेतालाई र्याखर्याख्ती पारेर गाली गर्ने अथवा छेउ न टुप्पोका कुरा दोहोर्याएर सहभागीलाई बोर गर्ने जस्ता बानी कहिले छुटाउने होलान् हाम्रा शासकले?
राष्ट्रपति ग्रिसोनले जलवायु परिवर्तनबारे सोधेका प्रश्नहरूबाट थाहा हुन्थ्यो, उनी यो विषयका विद्वान् नै थिए। आर्थिक सङ्कटमा भएपनि आइसल्याण्डलेे संसारका हिमनदीसम्बन्धी अनुसन्धानमा ठूलो लगानी गर्ने भएको छ। ग्रिसोनको पहलमा आइसल्याण्डले अर्काे वर्ष राजधानी रेक्याभिकमा काठमाडौंस्थित इसिमोडका वैज्ञानिकहरूको एउटा ठूलो सम्मेलन गर्ने र भारतको देहरादुनस्थित हिमनदी वैज्ञानिक केन्द्रलाई मद्दत गर्ने भएको छ।
रेक्याभिक विमानस्थलमा उत्रनेवित्तिकै यो ज्वालामुखीको देश हो भनेर थाहा हुन्छ। बाहिर माइनस पाँच डिग्रीको जाडोमा जमीनमुनिबाट निस्केको सल्फरको कारणले कुहिएको अण्डाको गन्ध आउँछ भने होटलको तातोपानीको धारो खोल्दा पनि त्यस्तै। नेपालको हिमालय भारतीय उपमहाद्वीप र एसियाको ठक्करबाट बनेको हो, तर आइसल्याण्डचाहिँ अमेरिका र युरेसिया छुट्टिँदा पृथ्वीको सतह फाटेर समुद्रको भूईंदेखि उम्लिँदै निस्केको ज्वालामुखीबाट बनेको टापू हो। यी ज्वालामुखीहरू अझ्ै पड्कन्छन्, जस्तै यसै वर्ष आइयाफियालायोकुल भन्ने ज्वालामुखीको विस्फोटनले दुई हप्तासम्म युरोपभरि हवाई यातायातलाई प्रभावित गरेको थियो।नेपालको भौगोलिक बनोटले हामीलाई अपार जलस्रोत दिएजस्तै आइसल्यान्डमुनि पृथ्वीभित्रको आगोले पगालेका पत्थरहरूले प्रशस्त जियो थर्मल ऊर्जाको स्रोत प्रदान गरेको छ। तर, नेपाललाई प्रकृतिले दिएको यत्रो विशाल उपहारलाई सदुपयोग गर्न नसकेर हामी दैनिक ११ घण्टा विद्युत कटौती भोगिरहेका छौँ। उता आइसल्याण्डवासीहरू आफ्ना सबै शहर र गाउँका घर, स्कुल, अफिस, फ्याक्ट्रीलाई तातो पार्न र बिजुली पुर्याउन जियो थर्मल उर्जाकै उपयोग गर्छन्। यसले गर्दा आइसल्याण्ड यातायातबाहेक अरु सबै कुरामा नविकरणीय उर्जा जियो र हाइड्रोमा आत्मनिर्भर छ।
नेपालको अर्थतन्त्रचाहिँ आफ्नै देशमा भएको जलविद्युत् प्रयोग नगरी संसारबाटै लोप हुन आँटेको र दिनप्रतिदिन महँगो हुँदै गएको खनिज तेलमा निर्भरता बढाउँदैछ। भारतबाट किन्नु पर्ने हुँदा यसले भारतप्रति हाम्रो आर्थिक र राजनीतिक निर्भरतालाई झ्नै बढाउने निश्चित छ।
उत्तरी ध्रुब नजिक आर्कटिक रेखातिरको रेक्याभिकमा हिउँदमा दिनको चार घण्टा मात्रै घाम लाग्छ। त्यहाँबाट हामीलाई दक्षिणी गोलार्द्धको न्युजिल्यान्ड उड्नु थियो, जहाँ अहिले गृष्म ऋतु छ र दिनमा पाँच घण्टामात्रै अँध्यारो हुन्छ। यी दुई टापू पृथ्वीको ठ्याक्कै उल्टो कुनामा रहेछन्, उडेर पुग्न २४ घण्टा लाग्ने।
हवाइजहाजको झयालबाट टहटह जुन र सिट अगाडिको पर्दामा संसारको नक्सामा हाम्रो यात्राको मार्ग देखिन्थ्यो। उडेको १२ घण्टापछि नक्सामा हामी भारतको लखनउमाथि उडिरहेको देखियो। दिउँसो भएको भए आइसल्यान्ड र न्युजिल्याण्डको मध्यविन्दु नेपालतिर आइपुग्दा अन्नपूर्ण, धौलागिरि र सगरमाथा चिनिने गरी देखिन्थे होलान्।
Source: Kunda Dixit
www.nepalitimes.com
www.nepalitimes.com
No comments:
Post a Comment