वासिङटन डिसी, अमेरिका
अमेरिकी लगानीकर्ताले भारतको आर्थिक उन्नतिबाट फाइदा लिन सकिने भन्दै नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न रुचि देखाएका छन् । लगानी बढाउने सम्भावना खोज्न यहाँ आएको नेपाली व्यवसायीको प्रतिनिधिमण्डलसँग भएको दुईदिने बैठकमा उनीहरूले यस्तो चाहना राखेका हुन् ।
भारतमा बढिरहेको अमेरिकी लगानीको प्रतिफल दिगो बनाउन पनि नेपालमा जलविद्युत् विकास आवश्यक रहेकामा उनीहरू सहमत देखिन्थे । 'भारतमा अमेरिकीहरूको ठूलो लगानी छ, यो बढिरहेको छ, ऊर्जा अभाव झेलिरहेको भारतीय बजार लक्षित गरेर अमेरिकीहरू नेपालमा लगानी गर्न तयार छन्,' नेपाली प्रतिनिधि मण्डलका नेता एवं उद्योग वाणिज्य महासंघ लगानी प्रवर्द्धन समितिका संयोजक चन्द्र ढकालले भने ।
नेपालमै पनि ऊर्जा अभाव भएकाले बजारको समस्या छैन । भारतमा बिजुली बेच्न हालै विश्व बैंकको सहयोगमा प्र्रसारण लाइन निर्माण गरिने सम्झौता भएबाट निकासीको ढोका खुल्ने छ ।
हालै मात्र २५ मेगावाटभन्दा तलका आयोजनाबाट उत्पादित बिजुलीको खरिददर २० प्रतिशत बढाउने निर्णय सरकारले गरेको छ । 'यो पनि लगानीकर्ताका लागि थप आकर्षण भएको छ,' ढकालले भने । निर्माणाधीन नयाँ जलविद्युत् ऐन अझै लगानीमैत्री भएर आउने विश्वास गरिएको छ ।