Thursday, December 9

ब्याट्रीबाट चल्ने बसलाई झन्झट

Kathmandu,Nepal
पाँच महिनाअगाडि नै उपत्यका भित्रिए पनि ब्याट्रीबाट चल्ने बस सार्वजनिक यातायातका रुपमा सञ्चालनमा आउन सकेको छैन। रुट अनुमति पत्र लिने झन्भटपूर्ण प्रक्रियाका कारण ती गाडी सार्वजनिक यातायातका रूपमा सञ्चालन गर्न अझै तीन महिनाभन्दा बढी लाग्ने नेपाल इलेक्ट्रिक भेहिकल इन्डस्ट्रिज (नेभी)ले जनाएको छ।

नेभीले ब्याट्रीबाट चल्ने एउटा मात्र बन्द ढोकावाला बस, दुइटा खुला ढोका भएको बस र एउटा कार परीक्षणका रुपमा चीनबाट ल्याएको थियो। १४ सिट क्षमताको बन्द ढोकावाला बस सार्वजनिक यातायातका रूपमा सञ्चालन गर्न दुई दर्जनभन्दा बढी व्यक्ति तथा संस्थाले चासो देखाएको नेभीका महाप्रबन्धक नारायणप्रसाद भुसालले बताए।


'सार्वजनिक यातायातका रूपमा चलाउन लामै प्रक्रिया पुर्‍याउनु पर्ने रहेछ,' भुसालले नागरिकसित भने, 'रुट इजाजतकै निम्ति अझै २/३ महिना कुर्नुपर्ने भएको छ।'

'उक्त बसलाई सार्वजनिक यातायातको रूपमा सञ्चालन गर्न खरिदकर्ताले सुरुमा एउटा समिति गठन गर्नुपर्ने, उक्त समितिले यातायात व्यवसायी राष्ट्रिय महासंघको सदस्यता लिनुपर्ने र त्यसको सिफारिसका आधारमा मात्र यातायात व्यवस्था कार्यालयले रुट तय गरेर सञ्चालन अनुमति दिने रहेछ,' उनले अगाडि भने।

खुला बसका लागि विभिन्न होटल तथा ट्राभल एजेन्सीहरू इच्छुक देखिएको भुसालले बताए। 'विशेष गरी साइड सिनका लागि उपयुक्त हुने भएकाले उनीहरूले विशेष चासो देखाएका हुन्,' उनले भने।

भुसालका अनुसार यस्ता बसमा एकपटक ब्याट्री राखेपछि दुई वर्षसम्म फेर्नु पर्दैन। एकपटक ब्याट्री चार्ज गर्दा सय किलोमिटरसम्म चल्छ भने ब्याट्रीको मूल्य कम्तीमा एक लाख पर्छ। यी बस ठाडो उकालोबाहेक सामान्य बाटोमा निकै राम्ररी चल्ने यातायात व्यवस्था विभागले जनाएको छ।
Source: www.nagariknews.com

No comments:

Post a Comment