Monday, January 9

मध्यमर्स्याङ्दी माघभरि बन्द हुने, लोडसेडिङ १४ घन्टा पुग्ने!

रामचन्द्र भट्ट, काठमाडौं
दिनहुँ ११ घन्टा लोडसेडिङ भइरहेका बेला विद्युत प्राधिकरणले दुई सातापछि मध्यमर्स्याङ्दी जलविद्युत गृह बन्द गर्ने निर्णय गरेको छ। आगामी माघ ८ देखि प्राधिकरणले पूरै महिना मध्यमर्स्याङ्दी बन्द गर्ने लागेको हो। ६९ मेगावाट क्षमताको यो आयोजना बन्द हुँदा कम्तिमा दिनको दुई घन्टा लोडसेडिङ थप हुनेछ। आयोजना बन्द हुँदा लोडसेडिङ दैनिक १४ घन्टा पुग्ने प्राधिकरणका अधिकारीहरूले अनुमान गरेका छन्।
'यसपालि जसरी पनि मर्मत गर्नुपर्ने भएकाले बन्द गर्न लागेका हौं,' प्राधिकरणका निर्देशक मोहनकृष्ण उप्रेतीले भने, 'गत वर्ष नै मर्मत गर्नुपर्ने तालिका थियो।' मध्यमर्स्याङ्दीको परामर्शदाता जर्मन कम्पनी केएफडब्ल्युले गत वर्ष हिउँदमै इलेक्ट्रोमेकानिकलतर्फको मर्मत गर्न प्राधिकरणलाई जानकारी गराएको थियो।
इलेक्ट्रोमेकानिकलअन्तर्गत टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मरको काम पर्छ। गत वर्ष हिउँदमा दैनिक १४ घन्टा लोडसेडिङ भएकाले त्यसमा बढ्न नदिन मर्मत रोकिएको थियो। यसपालि मर्मत रोके विद्युत गृह दुर्घटनामा पर्ने चेतावनी विदेशी परामर्शदाता कम्पनीले दिएपछि पूरै तीनसाता बन्द गर्न लागिएको हो।
परामर्शदाताले मर्मत गर्न डेढ महिना लाग्ने बताएको छ। प्राधिकरण सञ्चालक समितिले तीन सातामै मर्मत सकेर विद्युत गृह चलाउन निर्देशन दिएको छ। 'त्यतिखेर लोडसेडिङ बढ्ने भएकाले मर्मत गरिएन, यसपालि वर्षाअघि जसरी पनि गर्नुपर्छ,' उप्रेतीले भने।
मध्यमर्स्याङ्दीले अहिले ३० मेगावाट बिजुली उत्पादन गरिरहेको छ। दुईवटा टर्बाइनमध्ये हिउँदमा एउटामात्र चलाउन पुग्ने पानी भएकाले ३० मेगावाटमात्र उत्पादन गरेको हो। यो बन्द अवधिभर प्राधिकरणले डिजेलप्लान्ट चलाएर लोडसेडिङ कम गर्ने उपाय अपनाउने भएको छ।
प्राधिकरणले त्यतिखेरका लागि हेटौंडा र दुहबीमा रहेका डिजेलबाट चल्ने मल्टिफ्युल प्लान्ट चलाउने तयारी गरेको छ। मल्टिफ्युल चलाउँदा घाटा हुने भएकाले त्यसको क्षतिपूर्ति दिन प्राधिकरणले अर्थ मन्त्रालयसँग थप रकम मागेको छ।
प्राधिकरणको अवस्था र गर्नुपर्ने सुधारका विषयमा प्रतिवेदन दिन गठन भएको उच्चस्तरीय कार्यदलले मर्मतसम्भारको काम वर्षाको समयमा गर्न सिफारिस गरेको थियो। ६ महिनाअघि तत्कालीन ऊर्जा राज्यमन्त्री रामजी शर्माको संयोजकत्वमा गठित कार्यदलले वर्षामा लोडसेडिङ कम हुने भएकाले मर्मत सम्भव भएसम्म त्यही बेला गर्न सुझाव दिएको थियो।
मध्यमर्स्याङ्दीको सिभिल संरचनाअन्तर्गत नहर पनि मर्मत गर्नुपर्ने भएकाले तीन साता बन्द गर्नुपरेको प्राधिकरणले दाबी गरेको छ। नहरमा बायाँतर्फ बालुवा, ढुंगा जम्मा भएकाले त्यसलाई हटाउनुपर्ने अवस्था आएको उप्रेतीले जानकारी दिए।
कम बिजुली उत्पादन हुने समयमा विद्युत गृह बन्द गर्नुपर्ने भएकाले माघ दोस्रो सातादेखि मर्मत गर्न सुरु गर्न लागिएको हो। माघमा मर्स्याङ्दी नदीमा पानी घट्ने र एउटामात्र टर्बाइन चल्न पुग्ने भएकाले यही समय प्राधिकरणले उपयुक्त ठहर गरेको हो।
ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले मध्यमर्स्याङ्दी बन्दबाट सम्भावित लोडसेडिङ वृद्धि रोक्न सरकारले विभिन्न उपाय अपनाइरहेको बताए। त्यतिखेर देशको एउटैमात्र जलाशययुक्त जलविद्युत आयोजना कुलेखानी पहिलो र दोस्रो बढी समय चलाउने तयारी प्राधिकरणको छ। दुबै चलाउँदा ९२ मेगावाट बिजुली उत्पादन हुन्छ।
Source: www.nagariknews.com

No comments:

Post a Comment