Sunday, January 29

चार महिनामा तीन पटक बिग्रियो गमगाढ विद्युत् आयोजना

तुफान न्यौपाने
जुम्ला, नेपाल
नेपालमा विद्युत् उत्पादन सुरु भएको सय वर्षपछि बनेको मुगुको गमगाढ साना जलविद्युत् आयोजना कमसल सामग्रीका कारण  ४ महिनामै ३ पटक बिग्रिसकेको छ। पछल्लो पटक पाइप फुटेपछि यही मङ्गलबारदेखि सदरमुकाम गमगढी पुन: अँध्यारोमा छ। एक मेघावाट भन्दा साना आयोजना निर्माण नगर्ने निर्णय गरेको प्राधिकरणले ४ सय किलोवाट क्षमताको यो आयोजना आफूले बनाएको अन्तिम सानो आयोजना भएका कारण ऐतिहासिक  बताएको थियो। तर निर्माण सम्पन्न भएको ४ महिनामै विद्युत् गृहमा जोडिएको फलामे पेनस्टक पाइप फुट्दा सदरमुकाम गमगढी र आसपासका बस्तीहरुले ३ पटक अँध्यारो झेलिसकेका छन्। गएको असोज ६ गतेदेखि विद्युत् उत्पादन सुरु गरिएको आयोजनाको एउटै पाइप ३ पटक फुटिसकेको हो।

आयोजना निर्माण कार्यदलका संयोजक हितेन्द्रदेव शाक्यले हप्ता दिनमा मर्मत कार्य सकिने जानकारी दिए। पाइप फुटेपछि यही मङ्गलबारदेखि गमगढी अँध्यारोमा छ। ठेकेदार कम्पनीले कमसल र परीक्षण नगरिएको पाइप खरिद गरेको र लामो समयसम्म पाइपहरु खुला आकासमुनि रहेकाले बेलाबेला पानी चुहिने गरेको आयोजनाले जनाएको छ। संयोजक शाक्यले पनि निर्माणका समयमा कमसल पाइप प्रयोग हुन गएको स्वीकारे।

आयोजनाको निर्माण गर्ने टोलीलाई नै लगाएर अहिले मर्मतको काम भइरहेको छ। तर आयोजनाका मेकानिकल इन्जिनियर काठमाडौंमा भएका कारण हप्ता दिनसम्म पनि मर्मतको काम सकिएको छैन। आर्थिक वर्ष २०५७/०५८ सालबाट निर्माण कार्य सुरु गरिएको यो आयोजना ठेकेदार कम्पनीले निर्माण सम्पन्न गर्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले सम्झौता खारेज गर्दै कम्पनीलाई कालो सूचीमा राखेर आयोजानको निर्माण कार्यको जिम्मा आफैंले लिएको थियो। करिब २१ करोड रुपियाँको लागतमा निर्माण गरिएको यो आयोजनबाट सदरमुकाम गमगढीसहित आसपासका ७ गाविसका २ हजार घरधुरीलाई विद्युत् सेवा प्रदान गर्ने लक्ष्य भए पनि अहिलेसम्म ७ सयभन्दा बढी घरमा विद्युत् सेवा पुग्न सकेको छैन।

आयोजनाको पानीको नहरको मुनितिर पाँच सात मिटरको दूरीमा आरसिआईडब्लु नामक गैरसरकारी संस्थाले कामका लागि खाद्यान्न कार्यक्रममार्फत् ग्रामीण सडक खनेकाले वर्षातको समयमा कुनै पनि बेला नहर बग्ने सम्भावना छ। फेरि यो वर्ष पनि सो सडकको सुधार विस्तार गरिँदैछ। नहर भएको भूभागमा पनि बलौटे र कङ्क्रिटयुक्त माटो छ। संयोजक शाक्यले यो आर्थिक वर्षमा पनि संरक्षण कार्य अन्तर्गत बजेट विनियोजन भएको जानकारी दिए। ३ स्थानमा संरक्षणको कार्य गर्नुपर्ने उनको भनाई छ।

प्राधिकरणले १ मेघावाट भन्दा साना आयोजना निर्माण नगर्ने र सञ्चालनमा रहेका आयोजना समेत लिजमा दिने निर्णय गरेको भए पनि गमगाढ आयोजना ऐतिहासिक र साना आयोजनामध्येको आफ्नो सबभन्दा कान्छो आयोजना भएका कारण आफैं सञ्चालन गर्ने जनाएको थियो।
स्रोत: http://nagariknews.com

No comments:

Post a Comment