Wednesday, May 9

फिलिप्स इनोभेसन अवार्डको फाइनलमा “वर्षा पम्प”

नेपालको पहाडी भूभागमा उपयोगी हुने सिँचाइ गर्ने प्रविधि 'वर्षा पम्प' अहिले फिलिप्स इनोभेसन अवार्डको फाइनलमा पुगेको छ । यसको अनुसन्धानमा लागेका प्रताप थापाका अनुसार प्रतियोगिता जितेमा त्यसबाट प्राप्त रकमले रोटरी क्लबसँग मिलेर भैँसिपाटीमा आउँदो अगस्टामा बर्षा पम्प जडान गर्ने उद्देश्य राखेको छ ।


तर प्रतियोगिता जित्नको लागि भने प्रतिस्पर्धीहरुको बिचमा भोटको गणना हुने उल्लेख गर्दै थापाले सहयोगका लागि सबैलाई अनुरोध गरेको छ । थापाका अनुसार http://phia.nl/english/?page_id=259 गएर लाइक गरेपछि भोट दिएको हुनेछ ।

हाल विश्वमा करिब १० करोड मानिसहरु अहिले खाद्यान्नको अभावमा भरपेट खान पाइराखेका छैनन् । क्लाइमेट चेन्ज (Climate Change) र बढ्दै गरेको जनसंख्याको कारणले गर्दा सन् २०५० सम्ममा यो संख्या दोब्बर भएर २० करोड पुग्ने अनुमान गरिएको छ । यो समस्याको तत्काल समाधानको लागि विभिन्न किसिमका खाद्यान्न सहयोग कार्यक्रमहरु सञ्चालन भएपनि यसको दिर्घकालिन समाधान भने खाद्यान्न उत्पादन वृद्धि गर्नु नै हो । राम्रो सिँचाइ सुविधा उपलब्ध गराउन सके, आकाशे पानीमा भर परेर गरेको खेती भन्दा दुई देखि पाँच गुनासम्म बढि खाद्यान्न उत्पादन गर्न सकिन्छ।

यस्तै खाद्यान्नको समस्या नेपालले पनि भोगिरहेकोछ । तर नेपाल खाद्यान्न आयात गर्ने देशहरु मध्येमा परे पनि अरु देश जस्तो सुख्खा भने छैन, नेपालमा प्रशस्त खोलानाला छन्, नेपाल जलश्रोतमा धनि छ । तर नेपालको भौगोलिक वनावटको कारणले गर्दा विशेष गरी पहाडी भूभागमा सिँचाइ सुविधा पुर्याउन गाह्रो छ । अहिले नेपालको करिब २७ प्रतिशत खेतियोग्य जमिन मात्र वर्षभरि सिञ्चित छ। पहाडी र हिमाली क्षेत्रमा यो परिणाम अझ कम भएर ४.५ प्रतिशत मात्र छ । नेपालको कुल आम्दानीको ४० प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगटेकोछ भने ७६ प्रतिशत परिवार खेती किसानीमा निर्भर छन् । यति हुँदा हुँदै पनि समस्यालाई भिन्न दृष्टिबाट हेर्दा, अवसर त्यहीँ नै लुकेको हुन्छ भने झैँ, नेपालको पहाडी भूभागको लाभ उठाएर सिँचाइ सुविधा राम्रो पार्ने अवसर पनि छ ।

हामीले अहिले विकास गरिरहेको प्रविधिले खोलाको बेगलाई उपयोग गरेर पानी पम्प गरेर सिँचाइ गर्न सकिन्छ । हामीले विकास गरेको यो प्रविधिले करिब २५-३० मिटर उचाइ सम्म विना कुनै बिजुली र फ्युल, पानी पम्प (तान्न) सकिन्छ । “वर्षा पम्प” नामाकरण गरिएको कारीब १‌.५ मिटर डायमिटरको यो पम्प करिब १५ हजार रुपैयाँमा स्थानीयस्तर मै तयार गर्न सकिन्छ । यसको बजार मूल्य भने २० देखि ३० हजार रुपैयाँसम्म पर्न आउँछ, जुन लगानी किसानहरुले एक वर्षमा नै उठाउन सक्छन् । सिँचाइ सुविधाबाट बढेको खाद्यान्न उत्पादनले किसानहरुको लगानी एक वर्ष भित्र उठ्छ र किसानहरुले सेयर उठाएर उपयोग गर्न सक्छन् ।

यस्तो प्रविधिमा सञ्चालन खर्च नलाग्ने भएकोले, डिजेल पम्पहरु भन्दा सस्तो पर्न आउँछ । त्यसै गरि पहाडी भूभागमा नहर बनाउन र मर्मत सम्भार गरिराख्न निकै खर्च लाग्ने गर्छ । पहाडी क्षेत्रका नहर व्यवस्थापन खर्च, वर्षा पम्पको भन्दा १० गुणासम्म बढि पर्छ । सन् २०२५ सम्ममा नेपालको जनसङ्ख्या ४ करोड १० लाख पुग्ने अनुमान गरिएकोछ र खाद्यान्न माग अहिलेको भन्दा दोब्बर हुनेछ, यस परिवेशमा खाद्यान्न उत्पादन वृद्धि गर्नको लागि यो प्रविधि लाभदायक मात्र नभइ, नितान्त जरुरी पनि छ ।

स्थानिय जनशक्तिको प्रयोग गरेर देश भित्रै बनाउन सकिने र यसको रेखदेख र मर्मतसम्भार किसानहरुले नै गर्न सक्ने भएकोले यो प्रविधिको थप सामाजिक र आर्थिक महत्व छ । कुनै पनि फ्युलको प्रयोग गर्नु नपर्ने भएकोले, वर्षा पम्प वातावरण मैत्री छ र कार्वन व्यापारको लागि उपयुक्त प्रोजक्ट पनि हुनसक्छ । डिजेल पम्पको सट्टा ‘वर्षा पम्प’को प्रयोग गरेर नेपालको पहाडी भूभागमा सिँचाइ गरेमा वार्षिक रुपमा ४० हजार मेट्रिक टनसम्म कार्वनडाइअक्साइड (CO2) उत्पादन कम गर्न सकिन्छ ।

अक्विष्टाले के गर्छ?



अहिले नेदरल्याण्डमा रहेर अक्विष्टाले वर्षा पम्पको ‘डिजाइन’ र ‘डेभ्लपमेन्ट’ गरिरहेको छ । १८ औँ शताब्दी देखि थाहा भएको तर अहिलेसम्म विश्वमा कहीं पनि व्यवसायिक रुपमा निर्माण नगरिएको ‘स्पाइरल पम्प’मा केही परिवर्तन गरेर ‘वर्षा पम्प’को निर्माण गरिएकोछ । अक्विष्टाले हालसम्म नेदरल्यान्डमा दुईवटा ‘बिजनेस प्लान’ प्रतियोगिता जितिसकेकोछ र अहिले फिलिप्स इनोभेसन अवार्ड (Philips Innovation Award) र बिई प्रोजेक्टको फाइनल राउन्डमा प्रतिस्पर्धा गर्दैछ ।

पुल्चोक क्याम्पसको ‘मास्टर अफ साइन्स इन टेक्नोलोजी एन्ड इनोभेसन म्यानेजमेन्ट’ (Master of Science in Technology and Innovation Management – MSTIM) कार्यक्रमबाट सुरु भएको यो आइडियालाई अक्विष्टाले निरन्तरता दिएको हो । अक्विष्टाले रोटरी क्लब, ललितपुर सँगको सहकार्यमा आउँदो अगष्टमा भैँसेपाटीमा यो प्रविधि परिक्षणको रुपमा जडान गर्ने भएकोछ ।

‘स्पाइरल पम्प’ प्रविधि बाहेक ‘पिस्टन पम्प’ प्रविधिमा पनि अक्विष्टाले काम गरिरहेकोछ र दोश्रो प्रोडक्टको रुपमा ठूलो क्षमताको सिस्टम बनाउने लक्ष्य राखेकोछ । नेपाल बाहेक लाओस, कम्बोडिया, मेक्सिको जस्ता देशहरुमा पनि यसप्रकारको प्रविधिको खाँचो रहेकोछ ।

श्रोत : www.ekantipur.com

No comments:

Post a Comment