Friday, July 6

माथिल्लो मोदी 'ए' को निर्माण सुरु

विद्युत प्राधिकरण र कोरिया वाटर रिसोर्सेज कर्पोरेसन (के-वाटर) मिलेर माथिल्लो मोदी 'ए' जलविद्युत आयोजनाको निर्माण सुरु गरेका छन्। यो आयोजना निर्माण गर्न तीन महिनाअघि सहमति भएको थियो। आयोजनाअघि बढाउन कोरियाली पक्षले कार्यालय स्थापना गरेर काम सुरु गरिसकेको छ। 'आयोजनास्थलमा सिभिल निर्माणका लागि ड्रिलिङ लगायत सिभिल कामअघि बढाइसकेका छौं,' प्राधिकरण आयोजना विकास विभागका निर्देशक केशवराज भट्टले भने।

 ४७ मेगावाटको यो आयोजना संयुक्त रुपमा निर्माण गर्न गत चैत १४ गते प्राधिकरण र के-वाटरले सम्झौता गरेका हुन्। संयुक्त कम्पनी स्थापना गरेर निर्माण गर्ने सहमतिअनुसार अहिले प्राधिकरणले आफ्नोतर्फबाट गर्नुपर्ने कामहरु सुरु गरेको छ। यो आयोजना कास्की र पर्वतको सिमानामा पर्ने मोदी नदीमा निर्माण हुनेछ। आयोजनामा ८० प्रतिशत सेयर के-वाटर र २० प्रतिशत प्राधिकरणको हुनेछ। 

के-वाटरले आफ्नो सेयरमध्यबाट १० प्रतिशत स्थानीयबासीलाई दिने घोषणा गरेको छ। १२ वर्ष अघिको अध्ययन अनुसार यो आयोजना बनाउन १० करोड अमेरिकी डलर खर्च लाग्नेछ। यसलाई अद्यावधिक गर्दा अझै कम खर्च लाग्ने अनुमान प्राधिकरणले गरेको छ। 

के-वाटरले एक वर्ष लगाएर तयार गरेको अध्ययनलाई अद्यावधिक गरेपछि अघि बढाउने सम्झौतामा उल्लेख छ। दुबै निकायको संयुक्त प्रतिनिधित्व हुनेगरि बनाइने नयाँ कम्पनी दर्ता प्रकृया अब अघि बढ्ने निर्देशक भट्टले बताए। 

पश्चिमसेतीमा चीनको थ्री गर्जेजले जस्तै माथिल्लो मोदीमा पनि के-वाटरले प्राधिकरणले माग गरेको सहुलियत कर्जा उपलव्ध गराउने प्रतिवद्धता जनाएको छ। संयुक्त विकास सम्झौताको म्याद एक वर्ष र त्यसपछि चार वर्षभित्र आयोजनाको निर्माण पुरा गर्ने लक्ष्य प्रवर्द्धकले लिएको छ। 

यो आयोजनाबाट उत्पादन भएको बिजुलीलाई भने लगानी अनुसार डलर र नेपाली रुपैयाँ दुबैमा पिपिए गर्ने उल्लेख गरिएको छ। माथिल्लो मोदी नदी प्रवाहमा आधारित आयोजना हो।

श्रोत: नागरिकन्युज.कम 

No comments:

Post a Comment