Tuesday, July 17

बिजुली नबिक्दा घरजग्गाको चिन्ता

सिद्धराज राई, धनकुटा 
उज्यालोमात्र होइन, आर्थिक गर्जोसमेत टार्ने उद्देश्यले बिजुली उत्पादनमा लागि परेका धनकुटा मारेककटहरेवासीलाई अहिले घरजग्गा लिलाम होला भन्ने चिन्ता छ। नेपाल विद्युत प्राधिकरणले केन्द्रीय विद्युत प्रशारण लाइन गाउँसम्मै पुर्‍याएपछि गाउँमा उत्पादित बिजुली खपत हुन छाडेकाले यो अवस्था आएको हो। २०६१ सालबाट निर्माण सुरु गरी गएको गत वर्ष पूरा भएको लेगुवाखोला लघु जलविद्युत आयोजनाबाट जम्मा ४० किलोवाट विद्युत उत्पादन भइरहेको छ। यो बिजुली गाउँमा वितरण गरेको केही महिनामै प्राधिकरणले पनि विद्युत सेवा विस्तार गरेको थियो। 

'अहिले हाम्रो तारमा विद्युत प्राधिकरणको करेन्ट गइरहेको छ। सबैले त्यही बत्ती बाल्न थालेका छन्,' लेगुवाखोला लघुजलविद्युत उपभोक्ता सहकारी संस्थाका अध्यक्ष नारद कटुवालले भने, 'हाम्रो पुरानो बक्यौता पनि उठन सकेको छैन।' केन्द्रीय प्रशारण लाइनबाट सबैतिर बिजुली पुगेकाले बक्यौता उठन गाह्रो भएको उनले बताए।

सिँचाइ पनि हुने र बिजुली पनि बाल्ने योजना साथ सहकारिताको अवधारणा अनुसार निर्माण गरिएको उक्त आयोजनाको आम्दानी अहिले शून्य बराबर छ। विद्युत नबिकेपछि घाटामा गएका लघु जलविद्युत निर्माणकर्ताहरूमा यतिबेला बैंकबाट लिएको ऋण कसरी तिर्ने भन्ने छटपटी छ। आयोजना निर्माण गर्न कृषि विकास बैंक धनकुटा शाखाबाट १२ जनाले धनीपूर्जा राखेर १३ लाख रुपैयाँ ऋण लिएका थिए।

ऋण तिर्न नसक्दा घरजग्गा नै लिलामको प्रवि्र्कयामा रहेको अध्यक्ष कटुवाल बताउँछन्। उनका अनुसार आम्दानी नभएको विद्युत उत्पादक सहकारी संस्थालाई अहिले ४१ लाखभन्दा बढीको ऋणभार छ। घाटामा गएपछि प्राधिकरणलाई बिजुली किनिदिन अनुरोध गरे पनि सुनुवाइ नभएको आयोजनाको गुनासो छ। एक मेघावाटभन्दा थोरै बिजुली किन्ने नीति नरहेको प्राधिकरण धनकुटाका प्रमुख श्यामप्रकाश सिंह बताउँछन्। विद्युत किनिदिन हामीलाई पत्राचार गरिएको भए पनि यसको प्रवि्र्कया विभागले मिलाउने भएकाले आफूले केही गर्न नसक्ने उनले बताए।

यसबारे लघु जलविद्युत सञ्चालक, स्थानीयवासी, विद्युत प्राधिकरण प्रतिनिधि र जिविस प्रतिनिधिबीच छलफल भए पनि निकास आएन। सो विद्युत गृहमा कार्यरत एक अपरेटरसहित दुई कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन्।

गाउँमा केन्द्रीय प्रशारण लाइन जोड्नुअघि मासिक ४० हजारसम्म विद्युत शुल्क उठाउने संस्थाले अहिले मुस्किलले ४/५ हजार रुपैयाँ उठाउने गरेको छ। ऊर्जा मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन कार्यक्रमको ५० लाख अनुदान र स्थानीयवासीको लगानी गरी एक करोड चार लाख रुपैयाँको लागतमा उक्त आयोजना निर्माण गरिएको थियो। एक वर्षअघिदेखि उत्पादन सुरु गरेको आयोजनाबाट मारेककटहरे गाविसका ७, ८ र ९ नम्बर वडाका ४ सय २६ घरमा बिजुली बालिएको थियो।

श्रोत : नागरिकन्युज.कम 

No comments:

Post a Comment