Friday, August 17

जलविद्युतमा चीनको जोड

नेपालको जलविद्युतमा चासो राख्दै आएको चीनले नेपाललाई जलविद्युत लगानीमैत्री वातावरण बनाउन आग्रह गरेको छ। नेपाल-चीनबीच काठमाडौंमा सोमबार सुरु परराष्ट्रसचिव स्तरीय बैठकमा चिनियाँ पक्षले यस्तो आग्रह गरेको हो। 

'नेपालको जलविद्युतमा चिनियाँ लगानीकर्ता लगानी गर्न तयार छन्,' चिनियाँ उप-विदेशमन्त्री फु यिङलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेपाली अधिकारीले भने, 'यसका लागि नेपालले लगानीमैत्री वातावरण बनाउनुपर्छ। जलविद्युतमा अहिले पनि धेरै समस्या छन्।' 

वार्तामा माथिल्लो त्रिशुली ३ 'ए' जलविद्युत आयोजनामा सहुलियत ऋण उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक भएको ती अधिकारीले बताए। यस्तै चीनले बाहिरी चक्रपथ निर्माण गर्न सकारात्मक रहेको जवाफ दिएको छ। नेपालले उपत्यकाको जनघनत्व बढ्दै गएपछि बाहिरी चक्रपथ निर्माणलाई अघि बढाउने निर्णय गरेको थियो। तर बाहिरी चक्रपथ निर्माणको प्रक्रिया भने अघि बढ्न सकेको छैन। 

नेपालमा चिनियाँ पर्यटन बढाउन सिधा हवाई सम्पर्क बढाउन पनि चीन सहमत भएको छ। 'चिनियाँ पर्यटक बढाउन हवाई सम्पर्क बढाउनेबारे सहमति भएको छ,' सहभागी ती अधिकारीले भने। चिनियाँ पर्यटक बढाउन काठमाडौं-ल्हासा बससेवा पुनः सञ्चालनमा ल्याउनेबारे छलफल भएको थियो।

बैठकमा नेपाली पक्षले व्यापार घाटा कम गर्न नेपाली वस्तुलाई शून्य भन्सारमा चीनमा प्रवेश दिन प्रस्ताव गरेका थिए। नेपालले राखेको प्रस्तावलाई चिनियाँ पक्षले सकारात्मक रुपमा लिएको उनले बताए। 'चीन नेपालका लागि ठूलो बजार हो। चीनमा नेपाली वस्तुको निकासी बढाउन सहुलियत दिन तयार छौ,' चिनियाँ पक्षको नेतृत्व गरेकी फु यिङले भनेकी थिइन्।

चीनले नेपालका चार हजारभन्दा बढी वस्तुलाई भन्सार छुट दिने प्रस्ताव गरेको छ। तर यो सुविधा नेपालजस्तै अरु अल्पविकसित मुलुकलाई समेत दिने प्रस्तावका कारण यसले धेरै फाइदा लिन नसक्ने नेपाली पक्षको जिकिर छ। नेपालले द्विपक्षीय सम्बन्धका आधारमा केही वस्तुमा आफूलाई मात्र भन्सार छुट दिन माग गर्दै आएको छ। यस्तो सुविधा अरु अल्पविकसित मुलुकले पनि पाए नेपालका लागि खासै उपलब्धि हुने छैन।

चीनसँगको व्यापार घाटा बढेपछि सरकारले सन् २००३ देखि भन्सार छुट मागेको हो। गलैंचा, चाउचाउ, धागो, काष्ठजन्य वस्तु, कपडालगायत वस्तु नेपालले मागेको सूचीमा परेका छन्। बियर, अल्कोहल, निर्माण सामग्रीलगायत वस्तुलाई छुट सुविधा दिने प्रस्ताव गरिएको छैन।

सरकारले चीनसँगको व्यापार घाटा धान्नै नसक्नेगरी बढेपछि भन्साररहित प्रवेश सुविधा दिन प्रस्ताव गरेको हो। नेपालको कूल आयातमा चीन भारतपछिको दोस्रो ठूलो मुलुक बनेको छ। कूल आयातमा यसले १२ प्रतिशतको हिस्सा राखेको छ। तर, निर्यात भने ३ प्रतिशतसम्म पनि पुगेको छैन। चीनको उच्च भन्सार दरका कारण नेपालको निर्यात नबढेको हो। नेपाली वस्तु औसत २५ प्रतिशतको उच्च भन्सार तिरेरमात्र चीनको बजार लिन बाध्य छन्। कतिपय वस्तुमा ४० प्रतिशतसम्मको भन्सार दर राखिएको छ।

नेपालबाट चीनको स्वशासित क्षेत्र तिब्बतमा सिमेन्ट, छड, चाउचाउ, मैदा तथा चीनमा हस्तकला, गलैंचा, पस्मिना, चाँदीका गरगहना निर्यात हुने गरेको छ। त्यसैगरी वनस्पति घिउ, सिन्केधुप, बाटेको धुप, औषधीजन्य उत्पादन, नक्कली गहना निकासी हुने गरेको छ।

चीनबाट नेपालले विद्युतीय सामाग्री, लत्ता कपडा, जुत्ता, उद्योगका कच्चा पदार्थ, सवारी साधन, फलफूल, पेय पदार्थलगायत वस्तु नेपाल आउँछन्। व्यापार प्रवर्द्धन केन्द्रका अनुसार नेपालको चीनसँग वार्षिक व्यापार घाटा ४५ अर्ब रुपैयाँ पुगेको छ। नेपालले एक अर्ब रुपैयाँ हाराहारीमा मात्र चीनमा वस्तु निर्यात गर्दै आएको छ।

श्रोत : www.nagariknews.com

No comments:

Post a Comment