Monday, August 20

भाउसँगै लोडसेडिङ बढ्यो, दिनमा सात घण्टा अन्धकार

विद्युत प्राधिकरणले बिजुलीको भाउ बढाएको चौथो दिनबाटै लोडसेडिङ पनि बढेको छ। प्राधिकरणले सोमबारदेखि लोडसेडिङलाई हप्तामा ४६ घन्टा बनाएको छ। 'हप्तामा चार दिन दुईपटक गरेर सात घन्टा र तीन दिन ६ घन्टाका दरले बिजुली कटौती हुनेछ,' प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले भने। अहिले हप्तामा ३५ घन्टा लोडसेडिङ छ।

प्राधिकरणले भदौ १ बाट लागु हुने गरी बिजुलीको महसुल २० प्रतिशतका दरले बढाएको छ। महसुल निर्धारण आयोगले साउनदेखि नै बढाउन स्वीकृति दिए पनि प्राधिकरणले भने वार्षिक उत्सवदेखि मात्र बढाउने निर्णय गरेको छ। प्राधिकरणले भदौ १ गते आफ्नो २७ औं वार्षिक उत्सव मनाएको छ।

प्राधिकरणले घरायसी मासिक २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्तालाई भाउ नबढाए पनि त्यसभन्दा बढी खपत गर्नेलाई भने प्रति युनिट ७ रुपैयाँ ३० पैसादेखि ११ रुपैयाँसम्म बनाएको छ।

भारतबाट आउने बिजुली ३५ मेगावाटले कटौती भएको छ। यो वर्ष पानी कम परेको हुँदा भारतमा सिँचाइका लागि पानी तान्ने पम्पको प्रयोग बढेपछि त्यसले विद्युतको माग निकै बढाएको छ। त्यसले गर्दा भारतले नेपालमा आउने बिजुली कटौती गरेको हो।

भारतबाट बिजुली कटौती भएपछि प्राधिकरणले चार दिन पहिलेबाटै पूर्वी नेपालमा साताका दैनिक ४९ घन्टा लोडसेडिङ गर्न सुरु गरिसकेको थियो।

यो वर्ष पानी नपर्दा कुलेखानी जलाशयमा पानी नभरिएको र मागसमेत एक सय मेगावाटका दरले बढेको हुँदा हिउँदमा गत वर्षभन्दा बढी समय लोडसेडिङ गर्नुपर्ने अनुमान प्राधिकरणको छ। नयाँ आयोजनाको प्रगति नभएको हुँदा यो वर्ष प्राधिकरणले लोडसेडिङलाई १६ घन्टामा सीमित गर्ने प्रयास गरिरहेको छ।

श्रोत : www.nagariknews.com

No comments:

Post a Comment