Wednesday, October 17

पश्चिम सेती साइट हेर्न चिनियाँ सुदूरपश्चिममा

पश्चिम सेतीको साइट हेर्न चिनियाँ कम्पनी थ्री गर्जेजका प्रतिनिधि सुदूरपश्चिम पुगेका छन् । दुई दिनअघि नेपाल आइपुगेको ८ जना इन्जिनियरको टोली आयोजनास्थल डोटी गएको लगानी बोर्ड स्रोतले जानकारी दियो।

'कम्पनीले अहिलेसम्म साइट हेरेको थिएन,' बोर्ड स्रोतले आइतबार कान्तिपुरसित भन्यो, 'इन्जिनियरहरूको टोली धनगढी पुगेको छ ।' ७ सय ५० मेगावाटको पश्चिम सेती डोटी, डडेल्धुरा, बाजुरा र बैतडीको सिमानामा बन्ने छ । यो जलाशययुक्त आयोजना हो ।

चिनियाँ कम्पनी थ्री गर्जेजले उक्त आयोजना बनाउनेबारे फागुनमा समझदारी (एमओयू) भएको थियो । त्यसलगत्तै बिनाप्रतिस्पर्धा आयोजना दिएको र लाभको बाँडफाँड प्रस्ट नभएको भन्दै संसदको प्राकृतिक स्रोत साधन समितिले छानबिन गरेको थियो । समितिले आयोजना बनाउने जिम्मा बोर्डलाई दिन पनि निर्देशन दिएको थियो । त्यसपछि उक्त प्रक्रिया यत्तिकै रोकिएपछि दुई महिनाअघि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनालसहित ऊर्जा सचिव हरिराम कोइराला र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तसहितको टोलीले एमओयू गरेको कम्पनीको होल्डिङ (माउ) कम्पनी चाइना थ्री गर्जेनका प्रसिडेन्ट चेन फि र सञ्चालक समिति (बोर्ड) अध्यक्ष काओ ग्वागजिङलाई भेटेका थिए । यसैगरी तत्कालीन चाइना थ्री गर्जेज इन्टरनेसनल -सीटीजीआई) का अधिकारीसँग छलफल गरिएको थियो । यही कम्पनीका उपाध्यक्ष वाग सावफेङले एमओयूमा हस्ताक्षर गरेका थिए । उक्त कम्पनीको नाम अहिले परिवर्तन भएर सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसन भएको छ ।

त्यपछि सावफेगले हस्ताक्षर गरेको परिमार्जित एमओयू लिएर डेढ महिनाअघि कम्पनीका प्रतिनिधि नेपाल आएका थिए । जसमा बोर्डका प्रमुख कार्यकारी अधिकृत पन्तले हस्ताक्षर गरेका थिए । फागुनमा भएको एमओयूअनुसार पश्चिम सेती आयोजना सार्वजनिक-निजी साझेदारीमा बन्ने उल्लेख छ । जसअनुसार विद्युत् प्राधिकरणको कम्तीमा २५ प्रतिशत सेयर रहने छ । बाँकी ७५ प्रतिशत लगानीको जोहो थ्री गर्जेजले नै गर्ने छ । उक्त ७५ प्रतिशतमध्ये २ देखि ५ प्रतिशत सेयर स्थानीय जनताका लागि दिन सकिने सम्झौतामा उल्लेख छ । तर परिमार्जित सम्झौताअनुसार सुदूरपश्चिमवासीले १० प्रतिशत सेयर पाउने छन् । जसअनुसार करिब साढे ४ अर्ब रुपैयाँको सेयर स्थानीयले पाउने भएका छन् । यससँगै १ सय ५० मेगावाट बिजुली सुदूरपश्चिमको औद्योगिक विकासमा उपयोग गर्नुपर्ने सहमति पनि भएको छ । सरकारी अधिकारीहरूका अनुसार थ्री गर्जेजले औद्योगिक विस्तारका लागि अन्य सहयोगसमेत गर्ने अनौपचारिक रूपमा प्रतिबद्धता जनाएको छ । आयोजना बनाउन करिब १ खर्ब ८० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । चिनियाँ टोलीको अध्ययनपछि वास्तविक लगानी पत्ता लाग्ने छ । बाँकी ५ सय मेगावाट बिजुली राजधानी र अन्य सहरसम्म ल्याउन आवश्यक प्रसारणलाइन बनाउन पनि चीनको एक्जिम बैंकसँग आग्रह गरिएको छ । आयोजना बन्ने डोटीदेखि बुटवलसम्मको प्रसारणलाइन बनाउनका लागि एक्जिमसँगै चाइना डेभलपमेन्ट बैंकसँग पनि आग्रह गरिएको छ । सेतीको बिजुली राजधानी ल्याउन ५ सय किमीसम्म ४ सय केभी क्षमताको प्रसारणलाइन बनाउनुपर्ने हुन्छ । पश्चिम सेतीको बिजुली देशभित्रै खपत गर्ने योजना छ ।

श्रोत : इकान्तिपुर.कम 

No comments:

Post a Comment