रामचन्द्र भट्ट, काठमाडौं
दिनहुँ ११ घन्टा लोडसेडिङ भइरहेका बेला विद्युत प्राधिकरणले दुई सातापछि मध्यमर्स्याङ्दी जलविद्युत गृह बन्द गर्ने निर्णय गरेको छ। आगामी माघ ८ देखि प्राधिकरणले पूरै महिना मध्यमर्स्याङ्दी बन्द गर्ने लागेको हो। ६९ मेगावाट क्षमताको यो आयोजना बन्द हुँदा कम्तिमा दिनको दुई घन्टा लोडसेडिङ थप हुनेछ। आयोजना बन्द हुँदा लोडसेडिङ दैनिक १४ घन्टा पुग्ने प्राधिकरणका अधिकारीहरूले अनुमान गरेका छन्।
'यसपालि जसरी पनि मर्मत गर्नुपर्ने भएकाले बन्द गर्न लागेका हौं,' प्राधिकरणका निर्देशक मोहनकृष्ण उप्रेतीले भने, 'गत वर्ष नै मर्मत गर्नुपर्ने तालिका थियो।' मध्यमर्स्याङ्दीको परामर्शदाता जर्मन कम्पनी केएफडब्ल्युले गत वर्ष हिउँदमै इलेक्ट्रोमेकानिकलतर्फको मर्मत गर्न प्राधिकरणलाई जानकारी गराएको थियो।
इलेक्ट्रोमेकानिकलअन्तर्गत टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मरको काम पर्छ। गत वर्ष हिउँदमा दैनिक १४ घन्टा लोडसेडिङ भएकाले त्यसमा बढ्न नदिन मर्मत रोकिएको थियो। यसपालि मर्मत रोके विद्युत गृह दुर्घटनामा पर्ने चेतावनी विदेशी परामर्शदाता कम्पनीले दिएपछि पूरै तीनसाता बन्द गर्न लागिएको हो।
परामर्शदाताले मर्मत गर्न डेढ महिना लाग्ने बताएको छ। प्राधिकरण सञ्चालक समितिले तीन सातामै मर्मत सकेर विद्युत गृह चलाउन निर्देशन दिएको छ। 'त्यतिखेर लोडसेडिङ बढ्ने भएकाले मर्मत गरिएन, यसपालि वर्षाअघि जसरी पनि गर्नुपर्छ,' उप्रेतीले भने।