Thursday, March 29

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको सबै तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

पर्वतीय मुलुकहरुको अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा नेपालका तर्फबाट प्रस्तुत गरिने एजेन्डाका सम्बन्धमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा जलवायु परिवर्तन परिषद्को बैठकको अध्यक्षता गर्दै उहाँले आगामी अप्रिल ५ र ६ मा हुने जलवायु परिवर्तनसम्बन्धी पर्वतीय मुलुकहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा आठौँ बैठकबाट पारित गरेको विषयहरुको समेत समीक्षा भएको वातावरणमन्त्री हेमराज तातेडले जानकारी दिए।

यसैगरी कोपनहेगनमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी १७ औँ अन्तर्राष्ट्रिय सम्मेलनबाट पारित योजनाहरुको कार्यान्वयन के कति भयो भन्ने बारेमा पनि आजको बैठकमा छलफल भएको थियो।

अति कम विकसित देशहरुको तर्फबाट नेपालले जलवायु परिवर्तन सम्बन्धमा अध्यक्षता लिने बेला आएकोले त्यसका लागि कसरी तयारी गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको मन्त्री तातेडले जानकारी दिए।

बंगलादेशले पनि अध्यक्षताका लागि दाबी गरिरहेको सर्न्दभमा नेपालले कसरी आफनो धारणा सबल रुपमा कसरी अगाडि बढाउने भन्ने सर्न्दभमा पनि गतिलो दबाब पेश गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको थियो।
पर्वतीय मुलुकहरुको सम्मेलनमा आजसम्म ३० मुलुकले सहभागिता रहने जानकारी आएको र केही देशहरुले वातावरणमन्त्री तथा सोही ओहोदाका मन्त्रीहरुको सहभागिता रहने जानकारी आएको उनले जानकारी दिए।

सम्मेलनमा सहभागी हुन आउने पाहुनाहरुको प्रवेशाज्ञा शुल्क मिनाहा गरिसकेको र सबै तयारी पूरा भइसकेकाले अहिलेको सम्मेलन महत्वपूर्ण हुने विश्वास लिइएको छ।

सो सम्मेलनमा नोबेल पुरस्कार विजेता राजेन्द्र पचौरीको समेत सहभागिता रहने जानकारी आएको वातावरणमन्त्री तातेडले बताए। जलवायु परिवर्तन सम्बन्धमा विकसित देशहरुले गरेको ज्यादतिका कारण साना तथा अल्पविकसित देशहरुले भोगेको समस्यालाई न्यून गर्न र कार्बन व्यापारलगायतका विषयमा पनि प्रष्ट धारणा अगाडि सार्ने सम्बन्धमा सम्मेलन प्रभावकारी रुपमा सम्पन्न हुने विश्वास लिइएको छ।

प्रधानमन्त्रीले जलवायु परिवर्तनको सम्बन्धमा आवश्यक सबै तयारी पूरा गर्न र वैज्ञानिक योजना पेश गर्न र त्यसैको तयारी गर्न निर्देशन दिएका छ।

स्रोत: रासस

No comments:

Post a Comment