Thursday, March 1

पश्चिम सेती बनाउन चिनियाँ कम्पनीसंग सहमति


सात सय पचास मेगावाटको जलाशययुक्त पश्चिम सेती आयोजना नेपालकै आन्तरीक खपतका लागि निर्माण गरिने गरी एउटा चिनियाँ कम्पनीसंग सरकारले बुधबार सहमति गरेको छ।
पश्चिम सेती
आयोजनाका लागि लाग्ने सवा खर्ब रुपियाँ मध्ये तीन चौथाई उक्त कम्पनीले लगानी गर्ने छ भने नेपाल विद्युत प्राधिकरणका लागि छुट्ट्याइएको बाँकी एक चौथाईका लागि चाहिने पैसाको जोहो समेत उसैले गरिदिने नेपाली अधिकारीहरुले बताएका छन्।

अपरिहार्य
खुरुखुरु प्रक्रिया अघि बढे सात वर्षभित्र बनिसक्ने ठानिएको उक्त आयोजना आगामी वर्षहरुमा लोड शेडिंग हटाउन अपरिहार्य भएको अधिकारीहरुको भनाई छ।
विगतमा एउटा अष्ट्रेलियाली कम्पनी स्मेकले सहमति गरेको १६ वर्षसम्मपनि आयोजना बनाउन नसकेपछि ६ महिना अगाडि पश्चिम सेतीको लाइसेन्स खोसेर सरकार आफैंले लिएको थियो।
त्यसपछि विश्वकै सबभन्दा ठूलो जलविद्युत कम्पनी भनिएको थ्री गोर्जेजसंग महिनौंसम्मको पत्राचार र कुराकानीपछि बुधबार काठमाण्डौंमा प्रारम्भिक सहमति भएको हो।
“सार्वजनिक निजी साझेदारीको आधारमा नेपालको आन्तरीक खपतको लागि विकास गर्ने गरी सम्झौता भएको छ,” पश्चिम सेतीबारे कुराकानी गर्न गठित टोलीका नेता तथा उर्जा मन्त्रालयका प्रवक्ता अर्जुन कार्कीले बताए।
‘विश्वस्त’
विद्युत प्राधिकरणले हाल्न पर्ने पैसा कम ब्याजको ऋणको रुपमा चीनकै एक्जीम बैंक मार्फत व्यवस्था गराईदिने र त्यसबाट नपुग भए कम्पनीलेनै बेहोर्ने सहमति समेत भएको कार्कीले बताए।
हुन त विगतमा पश्चिम सेती बनाउने सहमति नभएको होइन।
भारत निकासीका लागि भनेर चित्रित उक्त आयोजनाका लागि चाहिने पैसाको जोहो अष्ट्रेलियाली कम्पनी स्मेकले १६ वर्ष सम्म गर्न सकेको थिएन।यसपाली भने त्यस्तो नियति नदोहोरिने अधिकारीहरुले बताएका छन्।
“पहिलाको कम्पनी आफैं उर्जाको प्रवर्तक थिएन। उसले पैसा जुटाउनै सकेन। तर अहिलेको कम्पनीसंग त आफैं पैसा जुटाउने हैसियत छ। त्यसैले हामी निकै विश्वस्त छौं,” प्रवक्ता कार्कीले भने।

सात वर्ष लाग्ने
बुधबारको सहमतिपछि करार, टेन्डर, विद्युत खरीद सम्झौता तथा वित्तिय व्यवस्थाका निम्ति दुई वर्ष र बाँकी पाँच वर्षमा निर्माण गरिसक्ने अधिकारीहरुले जनाएका छन्।
हालसम्म नेपालमा जलाशययुक्त अर्थात वर्खाको पानी जम्मा गरेर हिउँद वा सुख्खा याममा समेत बिजुली निकाल्न सकिने एकमात्र कुलेखानी आयोजना सञ्चालनमा छ।
कुलेखानीभन्दा पश्चिम सेती सात गुणाभन्दा ठूलो आयोजना हो।
हिउँदमा नदीहरुमा पानीको बहाव स्वात्तै घट्ने कारण अरु खालका आयोजनाले सुख्खा याममा क्षमताको तुलनामा आधीभन्दापनि कममात्र बिजुली निकाल्न सक्छन्।
तर पश्चिम सेती निर्माण गर्दा गर्दै त्यसबाट निक्लने बिजुली प्रसारण गर्न चाहिने लाईनकोपनि संगै संगै निर्माण नथाले आयोजनाले समयमै सार्थक परिणाम दिन नसक्ने विश्लेषकहरु बताउँछन्।
श्रोत: www.bbc.co.uk/nepali

No comments:

Post a Comment